नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशकको राजीनामा स्वीकृत

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ। दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको र उनको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताए।

कार्यकारी निर्देशक दाहालमाथि नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा केही कमीकमजोरी गरेको आरोप लागेको छ। नारायणहिटी दरबार संग्रहालयमा आफूले सही मनसायले काम गरेको, विभिन्न सञ्चार माध्यममा गलत तथा दुस्प्रचार गरिएको र नेपाल सरकारले नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा छानबिन समितिसमेत गठन गरेकाले उक्त समितिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नैतिकताका आधारमा आफूले राजीनामा पेस गरेको कार्यकारी निर्देशक दाहालको राजीनामा पत्रमा उल्लेख छ।



दरबार संग्रहालयभित्र रेस्टुरेन्टलगायत व्यवसाय गर्न दिइएको अनुमतिमा छानबिन गर्न गठित समितिको प्रतिवेदनमा क्यान्टिनरक्याफेटेरिया सञ्चालन गर्नका लागि प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन नभएको, बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको उल्लेख गरिएको छ।

यसैगरी, सम्झौताविपरीत बि म्यानेजमेन्ट प्रालिले नयाँ संरचना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकले कुनै कानुनी कारबाही नगरेको पनि प्रतिवेदनमा भनिएको छ।आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृति नलिई र मन्त्रालय एवं विकास समितिको पूर्वस्वीकृति नलिई अनुमानित १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचना निर्माण भएको देखिएको प्रतिवेदनमा उल्लेख छ।

सम्बन्धित समाचार