मृत अवस्थामा ८ जना फेला

काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्टहाउसमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ बस्ने ५० वर्षीय हर्क बहादुर गिरी बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

सोमबारदेखि गेष्टहाउसमा बस्दै आएका उनी आफू बसेकै कोठाभित्र मृत अवस्थामा फेला परेका हुन् । यसैगरी, काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरमा पार्किङ गरी राखेको पुरानो माईक्रोबसमा हाल नाम, थर, वतन नखुलेका करिब २२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।



त्यस्तै संखुवासभा, खाँदबारी नगरपालिका-१ डडारे बस्ने सिलिचोङ गाउँपालिका-२ बाला घर भएका ४० वर्षीय महेश राई बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । खाँदबारी नगरपालिका-१ नयाँबस्तीमा सोमबार बेलुकी सोही नगरपालिका डडारे डेरा गरी बस्ने खोटाङ सकदेल घर भएका २८ वर्षीय शम्भु राईसँग झगडा भएपछि बिरामी भई डडारेस्थित जगत राईको घरमा सुतेका महेशको सोही घरको बराण्डामा शव फेला परेको हो । शम्भुलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-५ बण्डाखोला बस्ने २८ वर्षीय दिनेश थारु आफ्नै घरबाट करिब १ किलोमिटर टाढा खेतको आलीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै ताप्लेजुङ, सिरीजंघा गाउँपालिका-५ पेदाङ बस्ने ६७ वर्षीय टिकाराम राई आफ्नै घर नजिकै बुधबार मृत अवस्थामा फेला परेका छन् । मिलमा गएकोमा बेलुकासम्म नफर्कीएपछि खोजी गर्नेक्रममा उनको शव फेला परेको हो ।

यसैगरी तेह्रथुम, फेदाप गाउँपालिका-१ भोगटेनी बस्ने ५५ वर्षीय लाइन बहादुर लिम्बु सोही ठाउँस्थित कालिदह भिरमुनि बुधबार मृत अवस्थामा फेला परेका छन् । फेदाप गाउँपालिका- १ लाम्थुङ्गाबाट मिस्त्रि काम गर्न गएकोमा घर नफर्किएपछि खोजी गर्नेक्रममा उक्त भिर भन्दा तल उनको शव फेला परेको हो ।

यस्तै सिरहा, मिर्चैया नगरपालिका-७ भालु खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ४० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । त्यसैगरी नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका-२ शेरीस्थित नारायणी नदीको दोस्रो भंगलामा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार