कथा : डेरा

 

विवेकलाई थाहा थियो ऊ बसेको घर उसको आफ्नो स्वामित्वको होइन भनेर, तर पनि उसलाई त्यस घरको असाध्यै माया थियो । त्यस घरको उन्नति प्रगति तथा विकासका लागि उसले आफ्नो क्षमताले भ्याएसम्म रचनात्मक कार्य गर्न कुनै कसर बाँकी राखेको थिएन । विवेकलाई उसका बाबाले एकदिन सम्झाउँदै भनेका थिए ‘विवेक ! यो घर हाम्रो निजी घर त होइन तर पनि यस घरलाई कहिल्यै पराया नठान्नु है । पहिले तिम्रो हजुरबुवा यस घरमा आउनु भएको थियो । म यसै घरमा जन्मे–हुर्के । तिम्रो पनि यसै घरमा जन्म भएको हो । त्यसैले यो घरसँग एक प्रकारले हाम्रो प्रगाढ नाता कायम भइसकेको छ । यस घरलाई आफ्नै ठानेर सकेसम्म यसकोे विकासमा लाग्नु तिम्रो पनि कर्तव्य हुनेछ ।’



विवेकका बाबा बित्नु भएको थुप्रै वर्षहरू भइसकेका छन् । हाल त्यस घरमा विवेक, उसकी विधुवा आमा, विवेककी पत्नी सुशीला तथा उसको सानो छोरा प्रतीक गरी चार प्राणी बस्ने गरेका छन् । विवेकका बाबाको असामयिक निधनले त्यस घरमा ठूलो हलचल ल्यायो तर विस्तारै समालिंदै पनि आयो । समयले पीडालाई पुर्दै गएकाले हाल सामान्य स्थिति बनिसकेको छ । वीए पास गरेर विवेक स्थानीय एउटा विद्यालयमा सेवारत छ । गाँउमा विवेकको राम्रो प्रभाव कायम भएको छ ।

xxx

धनबहादुर त्यस गाँउकै सबैभन्दा इमान्दार व्यक्तिको रूपमा चिनिन्थ्यो तर ऊ आर्थिक रूपले विपन्न थियो । पैतृक सम्पत्तिका रूपमा प्राप्त एउटा सानो टुक्रा बारीले उसको जीवन गुजरा गर्न सजिलो थिएन । साहु महाजनकोमा गई ज्यालादारी गरेर मात्र हात मुख जोड्न पनि गाह्रो थियो । उसकी श्रीमती पनि गाँउघरमा गई कामधन्धा सघाएर दुईचार पैसा कमाउँथिन् । एवंरीतले उनीहरूको जीवन गाडी क्रमशः अगाडि बढ्दै थियो ।

एक वर्ष धनबहादुरको गाउँमा ठूलो खडेरी प¥यो । फसल राम्रो हुन सकेन र गाउँमा ठूलो अनिकाल आइलाग्यो । अलिअलि केही हुनेले त जसोतसो प्राण धान्ने उपाय निकाले तर धने त निरूपाय थियो । हुने खानेहरूसँग गएर हात फैलाउने उसको स्वभाव नै थिएन । बरू आफ्नो स्वाभिमानलाई बचाउन उसले त्यस गाउँबाटै पलायन हुने निर्णय गर्न पुग्यो । आफ्नी श्रीमतीसँग सल्लाह गरी एकदिन दुबैजना गाउँबाटै हराए । गाँउमा केही दिन चर्चा परिचर्चा पनि भयो तर विस्तार गाउँलेले धनबहादुरलाई बिर्से ।

आर्थिक कारणले आफ्नो गाउँ छोड्न बाध्य भएका धनबहादुर तथा उसकी श्रीमती लक्ष्मीले धेरै हण्डर खानु प¥यो । कहिले यहाँ कहिले वहाँ गर्दै धनबहादुर दम्पती एउटा नितान्त नौलो ठाउँमा पुगे । यो भाषा, संस्कृति तथा भेषभूषा नै पृथक भएका गाउँमा उनीहरूले बाँच्ने आधार पाए । शुरूमा त्यस गाउँमा मिलेर बस्न धेरै गाह्रो महसुस गरिएको थियो तर बस्तै जाँदा सामान्य बन्दै गयो । विस्तारै धनबहादुरको सम्बन्ध ऊजस्तै पेटका कारण त्यस गाउँमा आई बसेका अन्य आफ्ना स्वजातिसँग पनि हुनथाल्यो । त्यसपछि धनबहादुरले पेटका लागि गाउँ छाड्ने ऊ मात्र एक्लो होइन रहेछ भन्ने महसुस गर्यो र चित्त बुझायो ।

आफ्नो स्थिति सुधार गर्न धनबहादुर र लक्ष्मी दुबैले कडा मेहनत गर्नु पथ्र्यो । धेरै वर्षको मेहनत र परिश्रमले उनीहरूले आफ्नो बचाइलाई केही सामान्य बनाउन सफल त भए तर ज्यादा परिश्रम र निरन्तर कामको चापले धनबहादुर कमजोर हुँदै गयो । त्यही बेला उसलाई औलाले समात्यो र औलाले नै उसको प्राण पनि लियो ।

धनबहादुरको निधन हुँदा उसको छोरा वीरबहादुरको उमेर २० वर्षको थियो । वीरबहादुरकी एउटी बहिनी पनि थिई जो ९÷१० वर्षकोे उमेरमा नै कालाज्वरको सिकार भएकी थिई । वीरबहादुर आफ्नो भद्रता तथा इमान्दारीमा गाउँमा नै कहलिएको थियो । उसको विवाह पनि आफ्नै जातिसँग आफ्नै संस्कृतिअनुसार भयो । चाहेर पनि वीरवहादुर स्कूल क्याम्पस जान सकेको थिएन । त्यसैले वीरबहादुरले आफ्ना भावी सन्तानलाई चाहिँ धेरै पढाउने सपना सजाएको थियो ।

समय क्रमशः वित्तै गयो । वीरबहादुरको विवाह भएको दोश्रो वर्ष उसले जीवनमा दुःख र सुख दुबै कुरा एकैचोटी अनुभव गर्नु प¥यो । किनकि त्यसै वर्ष एकातिर उसकी आमाको निधन भयो भने अर्कोतिर उसको छोरा विवेकको जन्म भयो । वीरबहादुर आफ्ना आमा बिछोडको पीडा आफ्नो छोरालाई हेरेर भुल्ने कोसिस गर्न थाल्यो । अनुकूल वातावरण पाएर विवेक पनि हलक्कै बढ्न थाल्यो । विवेक सानैदेखि तीक्ष्ण बुद्धिको थियो ।

वीरबहादुरले थुप्रै दुःख गरेर भए पनि सानैदेखि आफ्नो छोरालाई स्कूल पठायो । स्कूलको पढाइ सकेपछि क्याम्पस पनि पठायो । २१-२२ वर्षको कलिलो उमेरमानै विवेकले वीए पास गर्यो । विवेकको विद्वता तथा कुशाग्रता देखेर उसका गाउँका तथा विवेकलाई चिन्ने सबै उसलाई प्रशंसा गर्थे । हाल विवेक स्थानीय एक माध्यमिक विद्यालयमा शिक्षकको रूपमा कार्य गर्दैछ । यस पेशामा पनि उसले पयापर््त सम्मान र प्रशंसा कमाएको छ ।

यसरी धेरै वर्ष अगाडि धनबहादुरले निर्माण शुरू गरेको स्वप्निल संसार विवेकको समयसम्म आइपुग्दा निक्कै सुढृढ भइसकेको छ । धनबहादुरका सन्तानले विहान बेलुका के खाऊँ के लाऊँको स्थितिबाट एक प्रकारले मुक्ति पाइसकेका छन् । धनबहादुरले वीरबहादरलाई हस्तानान्तरण गरेको स्थितिभन्दा वीरबहादुरले विवेकलाई हस्तान्तरण गरेको स्थितिका बीच ठूलो अन्तर आइसकेको छ ।

विवेक वास्तवमा नै धेरै विवेकशील, कर्तव्य परायण, परोपकारी तथा इमान्दार व्यक्तित्वका रूपमा त्यस गाउँमा स्थापित भइसकेको छ । इमान्दारी त त्यस परिवारको पुख्र्यौली नासो नै थियो, त्यस नासोलाई अझ उजिल्याउने कार्य विवेकबाट भइरहेको प्रतीत हुन्छ ।

स्कूलको ड्युटी पछाडि विवेक आफूलाई सामाजिक कार्यमा संलग्न भएर विताउन चाहन्थ्यो र गथ्र्यो पनि । समाजका हरेक समस्यालाई बढो इमान्दार र निष्पक्ष ढंगले समाधानका लागि ऊ पहल गथ्र्यो त्यसैले उसको लोकप्रियता दिनानुदिन चुलिंदै थियो । आफ्नो जातीय हितका लागि आफ्नो धर्म, भाषा, भेषभूषा तथा कलासंस्कूतिको रक्षार्थ पनि आफ्ना सजातिलाई एकता गर्ने, भावनात्मक वृत्तभित्र गोलबद्ध गर्ने कार्यमा पनि विवेकको विशेष नेतृत्व तथा पहल जारी छ ।

विवेकको दिनानुदिन बद्दो लोकप्रियता त्यहाँका आदिवासीलाई भने मन परेको थिएन । विवेकले त्यस गाउँ र घरलाई जतिसुकै आफ्नो मानेर त्यसको उन्नति, प्रगति र विकासका लागि जोड दिए पनि त्यहाँका आदिवासीहरूले उसलाई एउटा आप्रवासी मात्र ठानेका थिए र उसको लोकप्रियतालाई उनीहरूले आफ्नो आत्मसम्मानमा लागेको ठूलो चोट ठानेका थिए । त्यसैले विवेकविरूद्धको भूसको आगो भित्रभित्रै सल्किदै थियो । आफू बिरूद्ध भएको यस षडयन्त्रका बारे विवेक विलकुल अनभिज्ञ थियो, त्यसैले ऊ सदैव त्यस गाउँ घरको विकास तथा उन्नतिमा जुटिरहेको थियो ।

xxx

रामबहादुरको घरको एउटा कोठा । रामबहादुर र उसको छिमेकी बलदेव कुनै गम्भीर विषयमा गफ गरिरहेका थिए, त्यहीबेला हीराकाजी आइपुग्यो । हीराकाजी रामबहादुर र बलदेवभन्दा उमेरमा केही कम देखिन्थ्यो । ऊ रामबहादुरलाई काका र बलदेवलाई दाइ सम्बोधन गथ्र्यो । दुबैलाई अभिवादन गरेर ऊ पनि रामबहादुर र बलदेव नजीकै गएर बस्यो ।

‘खबर के छ भतिज, कुनै नयाँ कुरा भनौंला जस्तो गरिस् नि !’ रामबहादरले हीराकाजीलाई सोधे ।
‘खास कुरा त केही होइन, तैपनि एउटा कुरा चैं सोधौं जस्तो लागेर ……………..’ हीराले केही अक्मकाएजस्तो ग¥यो ।

‘भन न हीरा, हामीबाहेक अरू यहाँ को छ र ?’ बलदेवले केही गम्भीर भएर भने ।

हीरा केही आश्वस्त भयो र भन्यो “यहाँका आदिवासीले त हामीलाई पुरै पेल्ने भए नि । अब त हामीले पनि उनीहरूकै जस्तो संस्कार मान्नु पर्ने अरे, उनीहरूकै जस्तो भेषभूषा लगाउनु पर्ने अरे । यदि त्यसो गर्न इन्कार गरे उनीहरूले हामीलाई यो गाउँबाटै निकाल्ने अरे । त्यसो गर्न मिल्छ ? हामी हिजो मात्र यहाँ आएका त होइनौं नि ! हामी र हाम्रो पुर्खाको पनि रगत पसिना बगेको छ यहाँको माटोमा । यिनीहरूले हामीलाई के सोचेका छन् हँ ?’

हीराको कुरा सुनेर रामबहादुर र बलदेवले एकआपसमा हेराहेरा गरे । उनीहरू पनि त्यस्तै कुरा गरिरहेका थिए । बलदेवले भने ‘हामी पनि त्यसै विषयमा कुरा गरिरहेका थियौं । यहाँ बस्न सकिएला जस्तो छैन हीरा, वातावरण हाम्रो प्रतिकूल बन्दैछ । अब हामीले के गर्ने ?’

‘त्यसो भनेर कहाँ हुन्छ दाइ, राम्रा र विकासका हरेक कुरामा हामीले उनीहरूलाई हार्दिक सहयोग पु¥याएकै हो र अझै पु¥याइने छ पनि । साँच्चै भन्ने हो भने विकास र निर्माणका कुरामा उनीहरूको भन्दा हाम्रै योगदान बढी होला । आज आएर हामीलाई नै अप्ठ्यारो पार्नु त भएन नि । कि कसो दाइ ?’
हीराले बलदेवलाई सोध्यो ।

हीराको प्रश्न गम्भीर थियो, प्रश्नभन्दा आउन लागेको स्थिति झन् गम्भीर थियो । एकछिन मौनता छायो । एकछिन पछि रामबहादुरले भने ‘स्थिति एकदम नै पेचिलो बन्दै गइरहेछ । हामी सबैले सोचेर निर्णय लिनुपर्ने बेला आएको छ । बरू एकपल्ट विवेक सरसँग सल्लाह माग्ने हो कि ? झरीका कारण धेरै दिनदेखि विवेक सरसँग भेट भएको छैन । यो हाम्रो साझा समस्या हो । उहाँले जे सल्लाह दिनुहुन्छ त्यसै गर्नु पर्ला । कि कसो बलदेवजी ?’ बलदेवले रामबहादुरको कुराको समर्थन गरे ।

‘तर मैले त विवेक सरका बारेमा पनि राम्रो कुरा सुनेको छुइनँ है’ हीराकाजीले आफ्नो आशंका व्यक्त ग¥यो ।

‘कस्तो कुरा हीरा ?’ बढो आश्चर्य मानेर बलदेवले सोधे ‘तिमीले कहाँ के सुन्यौ ?’

हीराले बढो रहस्योद्घाटन गर्ने शैलीमा भन्यो ‘अस्ति म बजार जाँदै थिएँ । बजारको नजिकैको एउटा चौतारामा बसेर यहाँका स्थानीय व्यक्तिहरू विवेक सरका बारेमा खासखुस कुरागर्दै थिए । धेरै कुरा त बुझिनँ तर सरले हाम्रो जातीय उत्थानमा गरेका योगदानप्रति आपत्ति जनाएजस्तो महसुस गरेँ । मैले कुरा बुझ्ने आशङ्काले मलाई देख्नासाथ उनीहरूले कुरा रोके । जब उनीहरूले कुरा रोके मलाई झन बढी शङ्का भयो । हामी विरूद्ध केही चाल चैँ पक्कै हँुदैछ है काका !’

‘अब के गर्ने भतिज, हामीभन्दा तैंले नै केही बुझेको छस्, तैं उपाय निकाल ।’ रामबहादुरले भने ।

‘पहिले हामी विवेक सरलाई भेट्न जौं, म मेरा जानकारीका सबै कुरा सुनाएर सरलाई पनि केही सतर्क पनि गराउँछु ।’ हीराकाजीले आफ्नो दृष्टिकोण राख्यो ।

‘त्यसो भए भोलि बिहान हामी तिनैजना विवेकसरकहाँ र जाऔं र बाँकी सल्लाह पनि त्यहीं बसेर गरौंला ।’ बलदेवले भने ।

रामबहादुरकी छोरीले तिनैजनालाई चिया ल्याएर दिई । चिया पिएर भोलि विवेक सरकोमा जाने सल्लाह गरी बलदेव र हीराकाजी निस्के । रामबहादुर आफ्नो र आफ्ना सजातिको सुदूर भविष्यको चिन्ताले टोलाएर धेरैबेरसम्म त्यही बसिरह्यो ।

xxx

वर्षाको मौसम थियो । ४-५ दिनदेखि लगातार परेको पानीका कारण कतिपय नदीका पुलहरू बाढीले भत्काएको, कयौं ठाउँमा पैह्रो गएको र धेरै ठाउँमा बाटो भत्केर यातायत अवरूद्ध भएको समाचारहरू आइरहेका थिए । विवेकको गाउँमा पनि यसको धेर थोर असर परिरहेको थियो ।

आज पनि बिहानैदेखि पानी परिरहेको थियो । आफ्नी आमालाई २-३ दिनदेखि ज्वरोले सताएको र गएको रात झन् गाह्रो भएकाले विवेक रातभरी सुतेको थिएन । अस्पताल लैजानु पर्ने थियो तर कसरी लैजाने ? सबै बाटो अवरूद्ध थियो ।

विवेक आफ्नो ५ वर्षको छोरालाई काखमा राखेर चिया पिउँदै यस्तै केही सोच्दै थिए । उसकी श्रीमती सुशीला घरधन्दामा जुटेकी थिइन् । त्यहीबेला कसैले ढोका ढक्ढक्याएको आवाज सुनियो । विवेकले आफ्नो सानो छोरालाई अर्कापट्टि राखे अनि उठेर र ढोका खोले । ढोका बाहिर ४-५ जना प्रहरीहरू उभिएका थिए ।

एकबिहानै प्रहरीलाई आफ्ना ढोकामा देखेर विवेक पहिले त छक्क प¥यो, आश्चर्य मान्यो तर तुरून्तै सोच्यो– भीषण वर्षाका कारण गाउँमा कुनै अप्रिय घटना घट्यो होला र त्यसैले छलफल गर्न उसलाई पनि बोलाउन प्रहरी आएका होलान् । विवेकले उनीहरूलाई केही भन्नु अगाडि नै एउटा प्रहरीले एउटा पत्र विवेकका हातमा थमाइदियो । त्यसपछि विवेकको कुनै प्रतिक्रिया नै नबुझी प्रहरीहरू फर्के । पानीबाट बच्न रेनकोट र गमबुट लगाएका ती प्रहरीहरू आज किन हो कुन्नि विवेकलाई यमदुत जस्तै भयङ्गर लागे ।

‘को किन आएका रहेछन् ?’ विवेकभित्र पस्ने वित्तिकै सुशीलाले सोधिन । विवेक प्रहरीले दिएको चिठी खोलेर हेर्न लागेकाले सुशीलाले आफ्नो प्रश्नको उत्तर पाइनन् र आफ्नै सुरमा थपिन् ‘यस्तो पानी परेका बेला पनि केको दुःख दिन कहाँ बोलाए होलान् नि । जति गरे पनि यस्तै हो । दिउँसो पानी रहेछ भने आज त आमालाई अस्पताल लिएर जानु पर्छ । औलाकै ज्वरो जस्तो छ । दवाई औषधि गरिहाल्नु पर्छ । सुन्नु भो, आज त बोकाएर भए पनि आमालाई अस्पताल लैजानु पर्छ ।’ आफ्ना श्रीमान्बाट पुनः केही जवाफ नपाएपछि भान्साकाृ का मगर्दै सुशीलाले पुलुक्क विवेकपट्टि हेर्न पुगिन् । विवेकका आखाँ रसाएका थिए । सुशीलाको मुटु हल्लियो । उनी काम छोडेर विवेकको छेउमा पुगीन् ।

‘सुशीला हामी बर्वाद भयौंं’ विवेकका मुखबाट आद्रतापूर्ण वाक्य निस्कयो र आफ्नो छेउमा उभिएकी सुशीलालाई अँगालो हाल्न पुग्यो । विवेकका आँखाबाट निस्केको आँसुले सुशीलाको शरीर भिज्न थाल्यो । सुशीलाले केही कुरा बुझेकी थिइनन् तर पनि एउटा सम्भावित भयले उनी कामिन् । विवेकलाई यति कमजोर उनले कहिल्यै पाएकी थिइनन् । सुशीलाको हृदय एउटा गम्भीर आशंकाले भयभीत भयो, त्यसैले उनले विवेकलाई केही सोध्ने आँट गर्न सकिनन् ।

विवेकले सुशीलालाई भक्कानिएको स्वरमा भन्यो ‘तीन दिनभित्रमा हामीले यो घर छोड्नु पर्ने अरे । नत्र सबै बर्बाद गरिदिने अरे । पत्रमा ठाडो आदेश छ । सुशीला, हामी साँच्चै नै अब बर्वाद हुने भयौं ।’

‘बाबा, यो हाम्रो घर हैन ? अनि किन छोड्ने ?’ विवेकको सानो छोरो प्रतीक विपर्यय स्थितिबाट अनभिज्ञ थियो त्यसैले अबोध प्रश्न ग¥यो । छोराको प्रश्नले विवेकलाई झन् ठूलो चोट लाग्यो र आफ्नो छोरालाई बोकेर चुम्बन गर्दै भन्यो ‘राजा, यो हाम्रो घर होइन रहेछ । अब हाम्रो घर कहीं पनि छैन । जहाँ गएपनि हामी शरणार्थी मात्र, जहाँ बसे पनि डेरा मात्र ।’

पाँच वर्षका छोराले विवेकको ‘डेरा’, ‘शरणार्थी’ जस्ता जटिल शब्दको अर्थ के बुझोस् तर उसका घरमा केही बिध्न आइपरेको अनुमानसम्म गरेको हुनसक्छ । अब त्यसको परिणाम् के हुन्छ त्यो पनि ऊ जान्दैन, आफ्नै जन्मभूमिमा ऊ असुरक्षित भएको कुरा पनि ऊ बुझ्दैन । त्यसैले पुनः अवोध प्रश्न गर्छ ‘बाबा अब हामी कहाँ जाने ?’

xxx

धेरै वर्ष पछाडि ।

विवेक हाल आफ्नो हजुरबाको पुरानो गाउँमा शरणार्थी रूपमा आइपुगेको छ । ऊ अब बृद्ध पनि भइसकेको छ । ऊ आफ्नो नाति–नातिना र अरू शरणार्थी छिमेकीका केटाकेटीहरूलाई वरिपरि राखेर कथा सुनाउँछ ‘थाहा छ नानी हो, उहिले ऽऽऽ एकादेशमा हाम्रो पुर्खाको पनि आफ्नै एउटा घर थियो अरे ….।’

२०६८

 

सम्बन्धित समाचार