
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशाला देखेर आफू ‘सक्ड’ भएको बताएका छन् । आज (आइतबार) पशुपति धर्मशालाको निरीक्षण गर्ने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए । मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको बताए । त्यस्तै उनले यसबारे छानबीन समितिले सोमबार प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने बताए ।
बतास समूहले धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भनेपछि मन्त्री आलेले निरीक्षण गरेका हुन् । यसअघि धर्मशालामा बतासले होटल सञ्चालन गरेकोबारे अध्ययन गर्न मन्त्रालयले एक छानविन समिति बनाइसकेको छ । धर्मशालामा महँगो होटल, बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ । भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ । त्यस्तै मन्त्री आलेले नारायणहिटी दरबारभित्र क्याफे सञ्चालनको तयारी गरिरहेका बतास समूहको ठेक्का रद्द गरेका थिए ।
