
नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण-विस्तार रोक्न आग्रह गरेको छ । आज (आइतबार) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिपुलेकमा भारतीय पक्षले गरेको सडक निर्माण रोक्न आग्रह गरेका हुन् ।
त्यस्तै कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक अभिन्न भूभाग रहेको भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट भएको बताएका छन् । उनले भने, ‘नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण-विस्तार रोक्न आग्रह गर्दै आएको छ ।’
नेपाल–भारतबीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धिसम्झौता तथा नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
