सीसीएमसीसीको बैठकले गर्यो यस्तो निर्णय

सरकारले देशभरका विद्यालयमा कोभिडविरुद्व खोप अभियान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)ले विद्यालयमा कोभिड खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

मंगलबार गृहमन्त्रालयमा बसेको केन्द्रको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणसहित केन्द्रका पदाधिकारी सहभागी थिए । बैठकले यसअघि बन्द गरिसकिएका विद्यालयहरु खोप अभियानका लागि माघ १६ देखि २० गतेसम्म खुलाउने निर्णय गरेको हो ।



गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए । बैठकले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ । त्यस्तै, विश्वविद्यालयका परीक्षाहरु आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय गरेको छ ।

हवाइजहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोप कार्ड अनिवार्य देखाउन पर्ने, अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्नुपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । त्यस्तै, बैठकले राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालबाट पनि सर्वसाधारणलाई कोभिड विरुद्धको खोप लगाउने, विदेशबाट नेपालभित्रने नाकामा एन्टीजेन परीक्षण गर्ने र खोप नलाएकालाई खोप लगाउने व्यवस्था गर्ने र नेपालमा रहेका विदेशी नागरिकलाई पनि खोपको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

सम्बन्धित समाचार