
पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुणा पौडेलले बताए।
भोलि देशभर आंशिकदेखि सामान्यतया बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।
विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ। भोलि दिउँसोबाट मौसममा सुधार हुने बताइएको छ ।
