नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ माघ ।

आगामी निर्वाचनबारे छलफल गर्न सत्तारुढ गठबन्धको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ९ बजे बस्ने गरी गठबन्धनमा आबद्ध दलहरूको बैठक बोलाइएको छ।
स्थानीय तह निर्वाचन पछाडि धकेलेर पहिले संघीय संसद र प्रदेशसभाको चुनावको तयारी गरेका दलहरूले आज चुनावबारे स्पष्ट धारणा बनाउन लागेका हुन्। यसअघि निर्वाचनको तयारी र आधिकारिक धारणा तय गर्ने विषयमा शुक्रबार प्रधामन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए। उनीहरूबीचको छलफलमा स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायतका विषयमा छलफल भएको थियो।
तर‚ शुक्रबार नै बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकपछि महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन संविधानअनुसार नै हुने बताएका थिए। सहमति जुटे आजै स्थानीय निर्वाचनको मिति तय गर्ने तयारी भएको स्रोतको दाबी छ ।
