नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ माघ ।

जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय सकारात्मक भएको निर्वाचन आयोगले जनाएको छ। हिजो बसेको पाँच दलीय गठबन्धनको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि त्यसलाई आयोगले सकारात्मक रुपमा लिएको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गठबन्धनको निर्णय सकारात्मक भएको बताए। ‘जेठभित्र चुनाव गर्ने सहमति भएको भन्ने कुरा सुनिएको छ। यो आयोगका लागि सकारात्मक कुरा हो।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका लागि यसअघि आयोगले आफ्नो धारणा प्रस्ट राखिसकेको बताए। यद्यपि, निर्वाचनका लागि आयोग ९० दिनको तयारीमा पनि चुनाव गराउन तयार रहेको बताए। उनले आयोगले यसअघि नै मिति सिफारिस गरिसकेकाले पछिल्लो कुनै निर्णय भने नगरेको बताए।
