नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ माघ ।

व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सहिदहरुकै कारण जनताको शासन स्थापित हुन सकेको उल्लेख गरेका छन्।
विसं २००७ को एकतन्त्रीय जहानिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२-६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन सहिदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको उनले बताएका छन्।
प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
प्रधानमन्त्री देउवाले यस दिवसले सहिदहरूले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिँड्न तथा उनीहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।
