नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ माघ ।
सोलुखुम्बुको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि भेटिएको छ । निर्माणाधीन ८६ मेगावाटको हाइड्रोपावरको सुरुङमा बिहीवारदेखि बेपत्ता बारा कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
बिहीवार सुरुङ मार्गमा जाने क्रममा बकेट चुडिँदा हाड्रोपावरका कामदार चौधरी बेपत्ता भएका थिए भने अर्का कामदार पर्साको पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत राय थारु घाइते भएका थिए । घाइतेको काठमाण्डौमा रहेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ।
हाइड्रोपावरमा एक महिनाको अवधिमा ३ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि गएको पुस ११ गते पानी परीक्षणका क्रममा पाइप विस्फोट हुँदा दुई इञ्जिनियरको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए ।