नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ माघ ।

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ् ताओबीच भिडियो कुराकानी भएको छ। कुराकानीमा चीनका विदेशमन्त्री तहका नेता सङले प्रचण्डलाई पार्टी अध्यक्षमा पुनः निर्वाचित भएकोमा बधाई दिएका थिए।
चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका अनुसार सङले कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङको अक्टोबर २०१९ मा भएको ऐतिहासिक नेपाल भ्रमणको चर्चा गर्दै उक्त भ्रमणमा दुई देशले विकास र समृद्दिका लागि रणनीतिक साझेदारी र मित्रताको सम्बन्ध स्थापित गरेको स्मरण गरेका थिए।
‘दुई देशबीचको सम्बन्ध तीब्र विकासको नयाँ युगमा प्रवेश गरेको छ। चिनियाँ पक्ष नेपालसँग विगतमा शीर्ष तहमा भएका सहमति अनुसार सम्बन्धलाई अझै विकसित गर्न मिलेर काम गर्न चाहन्छ’, सङले कुराकानीमा भने। चिनियाँ नेता सङले चीनले नेपालका राजनीतिक दलहरूसँग पारस्परिक राजनीतिक विश्वासका आधारमा परम्परागत सम्बन्धलाई अझै गहिरो बनाउन चाहेको बताए।
सङले चिनियाँ कम्युनिष्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेपालका प्रमुख राजनीतिक दलहरूसँग लामो समयदेखि छलफलमा रहेको बताउँदै त्यसले चीनसँग स्वस्थ र स्थिर सम्बन्ध विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताए।
त्यस अवसरमा सङले चिनियाँ राष्ट्रपतिले विश्व आर्थिक मंच २०२२ मा भिडियोमार्फत् दिएको मन्तव्यबारे पनि जानकारी गराए। चीनले अघि बढाएका आर्थिक र सामाजिक विकासबारे पनि उनले प्रचण्डलाई बताए। त्यसैगरी बेइजिङ वीन्टर ओलम्पिकको तयारीबारे पनि उनले अध्यक्ष प्रचण्डलाई जानकारी गराए।
भिडियो कुराकानीमा प्रचण्डले चीनले नेपालको आर्थिक तथा सामाजिक विकास र कोरोना महामारीसँग लड्न दिएको सहयोगका लागि धन्यवाद दिए। उनले चिनियाँ नयाँ बर्ष र बेइजिङ विन्टर ओलम्पिकको पूर्ण सफलताको लागि शुभकामना दिए।
