नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ माघ ।
कोरोना महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनको उल्लङ्घन गरेर भोजभतेर गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले माफी मागेका छन् । प्रधानमन्त्री जोनसनले संसदमा सम्बोधन गर्दै आफूबाट गलत काम भएको भन्दै माफी मागेका हुन् ।
लकडाउनका बेला प्रधानमन्त्रीले सरकारी निवास टेन डाउनिङ स्ट्रिटमा मान्छेहरु भेला गरेर भोजभतेर गरेपछि चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री जोनसनले छानबिन रिपोर्टमा उल्लेख भएका कुरा स्वीकार गरेको र संवेदनशीलतालाई आफूले बुझेको भए राम्रो हुने बताएका छन् ।
संसदमा जोनसनले भने, ‘हामी सबैले आफूलाई ऐनामा हेर्नुपर्छ, तर यसको मतलब मेरा क्रियाकलाप सबै नियमभित्रै थिए भन्ने होइन ।’ सम्बोधनका क्रममा जोनसनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिट र मन्त्रिपरिषद् भवन सञ्चालनको तरिका बदल्न लागेको र यसले धेरै सुधार ल्याउने पनि बताएका छन् । तर विपक्षी दलले भने प्रधानमन्त्रीले भोजभतेर गरेको विषय लाजमर्दो भएको भन्दै राजीनामा माग गरेका छन् ।