नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ माघ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आबद्ध राष्ट्रिय युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र त्यसको मूल्य झन्डै दुई अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको युवा सङ्घले आरोप लगाएको छ ।
मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानुनी प्रावधानअनुसार कारबाही गर्न माग गरिएको सङ्घका अध्यक्ष किरण पौडेलले बताए । उनले जनताको सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालयभित्रैबाट खोप हराउनु लज्जास्पद र जनघाती कदम भएको बताए ।
