
राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।
राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै मौलिक पहिचान अभिवृद्धि गर्नसमेत सहयोग पु-याइरहेको बताएकी छिन् ।
‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु’ शुभकामना सन्देशमा भनिएको छ ।
उपराष्ट्रपतिद्वारा शुभकामना
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको बताएका छन् । सोनाम ल्होसारको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति पुनले तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको छुट्टै पहिचान रहेको स्मरणसमेत गरेका छन् । तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको संगीत नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अंग बनेको उनको शुभकामना सन्देशमा उल्लेख छ ।
सोनाम ल्होछारले सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् । ल्होसार पर्व मान्यजनबाट टीका थाप्ने, आशिर्वाद लिने, खालुम, खाप्से, ड्यासिल, गुथुकजस्ता मौलिक परिकार खाने, जमघट, नाचगान गरेर ल्होसार मनाइने गरेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले ल्होछारलाई आपसी सदभाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा पनि लिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीद्वारा शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सोनाम ल्होसार’ जस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन् । उनले ‘सोनाम ल्होसार’को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरे ।
उनले शुभकामना सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताए ।
उनले कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरे । प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे ।
माधवकुमार नेपालद्वारा शुभकामना
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी(का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताएका छन् ।
तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसार २०७८ का अवसरमा सम्पूर्ण दिदीबहिनी तभा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै उनले बहुजातीय, बहुधार्मिक र बहुप्राकृतिक विशेषतायुक्त नेपालका विभिन्न समुदायका रीति, परम्परा र संस्कृति मौलिक पहिचान र बहुमूल्य सम्पत्ति भएको बताए ।
यस्ता पर्वले मौलिक संस्कृति प्रवद्र्धन, सामाजिक सद्भाव अभिवृद्धि र राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाउँदै पूर्वप्रधानमन्त्री नेपालले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान कायम गर्दै सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सोनाम ल्होसारले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
