यी पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी तिर्न मन्त्रालयको पत्राचार

रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पत्राचार गरेको छ । हिजो (मंगलबार) मन्त्रालयले एक सूचना जारी गर्दै पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको हो ।

रोयल्टी बुझाउनु पर्ने होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (-याडिसन होटल) लाजिम्पाट, रक इन्टरनेशनल प्रालि काठमाडौँ, ह्याप्पी आवर प्रालि काठमाडौँ र सेन्ट्रल मिडिया प्रालि काठमाडौँ रहेका छन् ।



मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको वक्यौता होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग काठमाडौँले रु २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटल्स लिमिटेड (-याडिसन होटल) लाजिम्पाटले रु १८ करोड ७६ लाख, रक इन्टरनेशनल प्रालि काठमाडौँले रु ११ करोड ४५ लाख ८२ हजार ८४८, ह्याप्पी आवर प्रालि काठमाडौँले रु २१ करोड ५५ लाख तथा सेन्ट्रल मिडिया प्रालि काठमाडौँले रु १३ करोड ३९ लाख ५० हजार बुझाउन बाँकी रहेको छ ।

गत कात्तिक ७ गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सातदिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले क्यासिनोले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले सो रकम बुझाउन पत्राचार गरेको हो ।

यसअघि क्यासिनो सञ्चालन गरेबापतको रोयल्टी, जरिवाना र दुई वर्षको नवीकरण दस्तुरसहित रु १४ करोड २० नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक माइकल बोल्सोवरलाई माघ १ गते साँझ मन्त्री आलेको निर्देशनमा अध्यागमनमा रोकिएको थियो । उनलाई प्राइम बैंक जमानत बसेपछि छाडिएको थियो ।

सम्बन्धित समाचार