नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ माघ ।

सत्तारुढ पाँच दलीय गठबन्धनका तीन शीर्ष नेता प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनका विषयमा आज दोस्रोपटक छलफल भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ भएको दोस्रो छलफलमा एमसीसी संशोधनको विकल्पको विषयमा छलफल भएको बताइएको छ। तीनै नेताले एमसीसी संशोधनका लागि अमेरिकासँग पहल गर्ने विषयमा छलफल भएको बताइएको छ। यसअघि बुधबार बिहान भएको छलफलमा प्रधानमन्त्री देउवाले नेता प्रचण्ड र नेपाललाई संशोधनको बुँदा उपलब्ध गराउन माग गरेका थिए।
साँझ भएको छलफलमा संशोधनको बुँदा उपलब्ध नगराए पनि संशोधनका लागि पहल गर्न सकिने विषयमा छलफल भएको हो। प्रधानमन्त्री देउवा एमसीसीको मुद्दालाई चाँडो हल गर्न पहल गरिरहेका छन्। । एमसीसीकै कारण गठबन्धन टुट्न नहुने पक्षमा गठबन्धनमा रहेका नेताहरु सचेत रहेकोसमेत बताइएको छ।
