नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ माघ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा २५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ७३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ६५५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६०२ जना र चार हजार ४१८ जनाको एन्टिजेन परीक्षण गर्दा ९२४ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १६ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ७९४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ८ हजर ४२५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ९५ हजार ८६८ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ । जसमा ५५ हजार ९० जना होम आइसोलेसनमा छन् भने १ हजार ३६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २४३ संक्रमित आईसीयूमा र ५१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ६४ हजार ११९ र एन्टिजेन विधिबाट १ लाख ३३ हजार ४७० जना पुगेको छ ।