नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ माघ ।

गृहमन्त्री बालकृष्ण खाँडले तराईमा हावाहुरीका कारण ज्यान गुमाएका तीन जनाको परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एवम् राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।
गृहमन्त्री खाँडले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
शुक्रवार दिउँसो धनुषाको सबैला नगरपालिका-१२ मा रुखको हाँगा भाँचिदा महेन्द्र सदाकी ८ वर्षीय छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरबिन्दको ज्यान गएको थियो । गृहमन्त्री खाँडले आज बिहान सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी र जिल्ला प्रहरी प्रमुख वसन्त रजौरेलाई बच्चाको अन्त्येष्टि र अन्य आवश्यक राहतको व्यवस्था मिलाउन निर्देशन दिए ।
त्यस्तै शुक्रवारै रौतहटको बुधिमाई नगरपालिका-१ मा कच्ची घर ढलेर भित्ताले च्याप्दा राममङ्गल रायकी श्रीमती ४५ वर्षीया फुलमतियादेवीको ज्यान गएको थियो । गृहमन्त्री खाँडले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र प्रहरी उपरीक्षक विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिए ।
गृहमन्त्री खाँडले महाशाखा प्रमुख कोइरालालाई हिमाली जिल्लाको हिमपात र तराईमा हावाहुरी र शीतलहरबाट प्रभावितलाई राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन निर्देशन दिएका छन् ।

