नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ माघ ।

नेकपा एमालेका नेता भीम रावलले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भएको बताएका छन् ।
आज (सोमबार ) अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा रावलले यस्तो बताएका हुन् । त्यस्तै उनले पत्र लेख्ने देउवा र प्रचण्डलाई छानबिन गरेर कारबाही गर्न माग गरेका छन् । रावलले भने , ‘कसरी कूटनीतिलाई कमजोर बनाइँदैछ र देशको स्वाभिमानमा धक्का पुग्दैछ भन्ने यो नमुना हो ।’
‘प्रतिनिधिसभामा प्रस्तुत गरिएको कुनै देशसँगको सम्झौता, जो अनुमोदनका लागि विचाराधीन छ’ रावलले भने । यस्तै रावलले देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्रमा ‘त्यसलाई हामी यस्तो गर्नेछौं, उस्तो गर्नेछौं भनेर पत्र लेख्ने अधिकार कुनै व्यक्तिलाई हुन्छ ? यसमा छानबिन भएर कारबाही हुनुपर्छ ।’ एमसीसी मुख्यालयले नै २९ सेप्टेम्बरमा चार या पाँच महिनाभित्र एमसीसी पारित गर्न समय दिन भन्दै देउवा र प्रचण्डले पत्र पठाएको खुलाएको थियो ।

