नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जुम्ला जिल्ला इञ्चार्जलगायत दर्जनौं नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज (मंगलबार) जुम्ला जिल्ला इञ्चार्जलगायत नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटारमा आयोजित कार्यक्रमका जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रवीकिरण)सहित जिल्ला सेक्रेटरी, सह–सेक्रेटरीलगायतका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।उक्त अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए ।
‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन्,’ उनले भने, ‘हामी यति ठूलो परिवर्तनका वाहक विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ।’ उनले अहिले विस्तारै विभाजनका घाउहरु बिर्सिंदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादी एक ठाउँमा केन्द्रित हुँदै गएको बताए ।
परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको उनको भनाइ थियो । त्यस्तै अध्यक्ष प्रचण्डले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताए । उनले क्रान्ति गरिन्छ भन्दै माओवादी छाडेकाहरु अहिले मूल पार्टीमै फर्किने क्रम जारी रहेको भन्दै पूर्वमाओवादी नेताहरुलाई एकै ठाउँमा आउन आह्वान गरे ।

