नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आग्रह गरेका छन् । आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै गौतमले यस्तो आग्रह गरेका हुन् ।
गौतमले अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको बताए । उनले संसदबाट पनि एमसीसी पारित हुने स्थिति न्यून नभएको भन्दै परियोजनालाई फिर्ता लिन गौतमले आग्रह गरेका हुन् ।
‘अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको छ । नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्नसक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु’ विज्ञप्तिमा उल्लेख छ ।
विवादित परियोजनाले नेपालको अहित गर्ने भन्दा गौतमले एमसीसी परियोजना फिर्ता गर्न अमेरिकी सरकारसँग अनुरोध पनि गरेका छन् । उनले एमसीसी सम्झौता कार्यान्वयन गरिँदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको पनि बताएका छन् । एमसीसी अन्तर्गत अमेरिकाले नेपालको विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि घोषणा गरेको ५० करोड अमेरिकी डलर (५७ अर्ब नेपाली रुपैयाँ) अनुदान परिचालन गरिने सम्झौता छ । त्यसैले अमेरिकाले एमसीसी चाँडै संसद्बाट अनुमोदन होस् भन्ने चाहेको छ र दवाव पनि दिइरहेको छ । तर सत्ता गठबन्धन दलहरूबीच देखिएको मतभेदको कारण एमसीसी संसद् बैठकमा टेबल हुन नसकेको बेला गौतमको यस्तो अभिव्यक्ति आएको छ ।

