कमल थापाले पार्टी छाडेपछि राजेन्द्र लिङ्देनले दिए यस्तो प्रतिक्रिया

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा पूर्व अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । आज (मंगलबार) थापाले एक विज्ञप्ति जारी गरी आफू राप्रपा पार्टीबाट अलग हुने घोषणा गरेका थिए ।

‘उहाँले पठाउनुभएको पत्रको विषयमा पार्टीको शीर्ष तहमा छलफल भई उहाँसमेतको सल्लाह सुझावमा समाधानको उपाय खोज्ने अन्तिम प्रयास भइरहेका बेला यस प्रकारको निर्णय हुनु अनपेक्षित, उहाँको राजनीतिक जीवनको लागि दुर्भाग्यपूर्ण घटनाको रुपमा हामीले लिएका छौं ’ लिङ्देनले भने ।



गत मंसिरमा पार्टी महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले पार्टीमा पूर्व राजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गरेका थिए । उनले पूर्वराजाको हस्तक्षेपत्रको विषयमा छानबिन गर्न तीन पटक अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण पनि गराएका थिए । पार्टीभित्र थापाको मागको विषयमा छलफल भइसकेको बेला थापाले यस्तो निर्णय लिनु गलत भएको लिङ्देन बताए ।

लिङ्देनले भने , ‘यस विषयमा भर्खरै पार्टीका संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दसँग कुराकानी गरेर आएको छु, दुई दिनपछि पदाधिकारी बैठक पनि बोलाइसकेको अवस्थामा थापाको पार्टीबाट अलग हुने निर्णय आउनु दुर्भाग्यपूर्ण हो ।’

सम्बन्धित समाचार