नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ माघ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताएका छन् । अध्यक्ष लिङ्देनले थापाले पार्टी परित्याग गरे पनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने बताएका हुन् । राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनको भनाइ थियो ।
उनले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरुलाई आह्वान गरे । पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्ने भन्दै उनले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले त्यसप्रकारको काम नगर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुनर्विचार गर्न आग्रह समेत गरे । वर्तमान अध्यक्ष थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा उनले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले सो घटनालाई अनपेक्षित र अप्रत्यासित घटनाको रुपमा लिएको उल्लेख गरे ।

