नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ माघ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन्। ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल पुगेर मन्त्री खतिवडाले अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
मन्त्री खतिवडाले जोशीको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशनसमेत दिए। मन्त्री खतिवडाले जोशी जिउँदो इतिहास भएको भन्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

