नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ माघ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । प्युठान, झिमरुक गाउँपालिका-५ सोही ठाउँ बस्ने ६९ वर्षीय डेगमान महतरा सोही ठाउँस्थित खरबारीको भिरमा बुधबार मृत अवस्थामा फेला परेका हुन् । गत शुक्रबार घरबाट हिँडेका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
त्यस्तै खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-७ स्थित सिन्धुलीगढी होटलमा काम गर्ने झापा दमक नगरपालिका-१ घर भएका ४४ वर्षीय बिनोद प्रसाद निरौला सोही होटलको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै पाँचथर, याङबरक गाउँपालिका-१ हर्केटेस्थित मध्य पहाडी लोकमार्गमा काम गर्ने जाजरकोट नलगाड नगरपालिका-३ बस्ने ४९ वर्षीय मान बहादुर थापा बेस क्याम्पमा बुधबार मृत अवस्थामा फेल परेका छन् ।
त्यसैगरी संखुवासभा, चिचिला गाउँपालिका-३ फाकादाम बस्ने दिपक राईकी ३ वर्षीया छोरी सदीक्षा राई घर नजिकै मृत अवस्थामा फेला परेकी छन् । गत कात्तिक १३ गते आफ्नै आँगनमा खेलिरहेको अवस्थामा हराई वेपत्ता भएकी उनको उक्त स्थानमा सडी गलेको अवस्थामा शव फेला परेको हो । यता रामेछाप, रामेछाप नगरपालिका-३ साघुँटार लिखु खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिलाको शव बुधबार फेला परेको छ ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बाग्मती खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यता दाङ, गढवा गाउँपालिका-२ कोठरी गाउँ र महादेबाबीच रहेको राप्ती नदी किनारमा राप्ती गाउँपालिका-८ पिपरी बस्ने ४२ वर्षीय मिठु भन्ने कल्लु चौधरी बुधबार मृत अवस्थामा फेला परेका छन् । सोमबारदेखि हराई बेपत्ता भएका उनको खोजी गर्नेक्रममा उक्त खोलामा शव फेला परेको हो ।
त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका-१ कुपण्डोल डेरा गरी बस्ने रामेछाप गोकुल गंगा घर भएका २९ वर्षीय ज्ञान बहादुर तामाङ सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सल्यान, छत्रेश्वरी गाउँपालिका-३ दारिमज्युला बस्ने ६३ वर्षीय दुर्गा बहादुर बुढाथोकी सोही गाउँपालिकास्थित जयचौर जाने बाटो मुनि खेतमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यता रौतहट, ईशनाथ नगरपालिका-४ मठियास्थित गहुँ खेतमा सोही नगरपालिका-९ लौतना टोल बस्ने १९ वर्षीया चाँदनी खातुन बुधबार मृत अवस्थामा फेला परेकी छन् । यसैगरी डोटी, जोरायल गाउँपालिका-१ गोगनपानीस्थित जंगलमा डडेलधुरा आलिताल गाउँपालिका-१ तिमुली बस्ने १६ वर्षीय भानुभक्त नाथ बुधबार मृत अवस्थामा फेला परेका छन् । पिपलमारी भन्ने स्थानमा विवाहमा गएकोमा फर्की नआएपछि खोजी गर्नेक्रममा उक्त जंगलमा उनको शव फेला परेको हो ।
त्यसैगरी नुवाकोट, विदुर नगरपालिका-९ दोभानमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
