नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ माघ ।

नेकपा माओवादी केन्द्रले बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक यही माघ २८ र २९ गतेका लागि बोलाइएको थियो । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।
कोरोनाका कारण पटक पटक स्थगित हुँदै आएको बैठक यस पटक भौतिक रुपमा नै बस्न तय भएको थियो । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), स्थानीय तहको निर्वाचनको घोषणापछिको अवस्था, पार्टीको पदाधिकारी चयनलगायतका विषयमा छलफल हुने बताइएको थियो ।
गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन । बैठकमा केन्द्रीय सदस्यको मनोनयन, पोलिटव्यूरो, स्थायी समितिको चयन एवम् पदाधिकारी चयन गर्ने र अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाइएको थियो । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।

