नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ माघ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा १३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ८८० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ जना र तीन हजार जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २ हजार २३८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ३० हजार ६०७ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या २९ हजार ४ रहेको छ । जसमा २७ हजार ९३० जना होम आइसोलेसनमा छन् भने १ हजार ७४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २२५ संक्रमित आईसीयूमा र ३२ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७१ हजार ४७५ र एन्टिजेन विधिबाट १ लाख ३६ हजार ५११ जना पुगेको छ ।