नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ माघ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ११२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २० हजार ९८९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १७ हजार ४४७ जनाको पीसीआर परीक्षण गर्दा ६६६ जना र तीन हजार ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा ४६२ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ८७८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २ हजार २१५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ३२ हजार ८२२ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ रहेको छ । जसमा २६ हजार ४५० जना होम आइसोलेसनमा छन् भने ९९१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २०६ संक्रमित आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७२ हजार १४१ र एन्टिजेन विधिबाट १ लाख ३६ हजार ९७३ जना पुगेको छ ।