नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ माघ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई ‘कामरेड’ भन्न नमिल्ने टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको ढोका चाहार्ने सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ‘कामरेड’ भन्न नमिल्ने तर्क गरेका हुन्।
आज पार्टी केन्द्रीय कार्यालय थापाथलीमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालका नेता योगेन्द्र ढकाल र अजिता जिसीलाई पार्टीमा स्वागत गर्दै उनले दाहाल र नेपालप्रति कटाक्ष गर्दै कांग्रेसले हात नदिए हिँड्न नसक्नेहरूलाई वामपन्थी भन्न नमिल्ने बताए ।
अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाबाहेक कांग्रेस नेताहरूले चुनावमा गठबन्धन नगर्ने भन्दा पनि दाहाल–नेपालले त्यसैलाई निरन्तरता दिने भनिरहेको सुन्दा अचम्म लाग्ने गरेको पनि बताए ।

