नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ माघ ।

एमसीसी परियोजना अघि बढाउने विषयमा सत्ता गठबन्धनमा सहमति जुट्न सकेको छैन। शनिबार गठबन्धनका प्रमुख तीन शीर्ष नेताहरुबीचको छलफल पनि निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमसीसी परियोजनाकै विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार बालुवाटारमा पुगेका थिए।
भोलि नेताहरुबीच पुनः छलफल हुने बताइएको छ । आजको बैठकमा पनि तीनवटै नेताहरुले आ–आफ्नो अडान कायमै राखेका थिए। स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को आउने बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव प्रचण्ड र नेपालसमक्ष थिए। तर, उक्त प्रस्ताव प्रचण्ड र नेपालले अस्वीकार गरेका छन्।
एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनभित्र नै मतभेद देखिएको छ। प्रधानमन्त्री जसरी पनि एमसीसी सम्झौता अघि बढाउनुपर्ने पक्षमा देखिए पनि अन्य साझेदार दल भने सहमत भइसकेका छैनन्। एमसीसीमा आज पनि सहमति नजुटेपछि सत्ता गठबन्धन थप संकटमा परेको छ ।
केहीदिन अघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेताहरुलाई फोन गरेर एमसीसी फिर्ता हुने अवस्था आए अमेरिका–नेपाल सम्बन्धमा पुनःविचार हुन सक्ने चेतावनी दिए।

