महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीशले दिए यस्तो प्रतिक्रिया

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावप्रति खुशी रहेको बताएका छन् । आज (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो । जबराले मेरो दायित्व र कर्तव्य संवैधानिक रहेकोले त्यसलाई पालना गर्न आफू सधैँभर तत्पर रहने बताएका छन् ।

उक्त प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश जबराले भने, ‘म विधि र प्रक्रिया मान्ने मान्छे छु । संवैधानिक नियुक्ति हो मेरो । संविधान बमोजिम सार्वभौम संसद्लाई महाभियोगबारे अधिकार छ । त्यो अधिकार उहाँहरूले प्रयोग गर्नु भएको हो । यसमा त म खुसी नै छु ।’ जबराले यसअघिदेखि नै आफूले संवैधानिक रुपमा नियुक्त भएकोले संवैधानिक तवरले हटाउन खोजे त्यसको सामना गर्ने बताएका थिए । उनले सडकबाट राजीनामा माग्दैमा आफूले राजीनामा नदिने अडान राख्दै आएका थिए ।



विगत तीन महिनादेखि नेपाल बार एशोसिएसनले जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको छ । प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेकोसहित महाभियोग लगाउन भनेर २१ वटा बुँदा समावेश गरिएको छ । काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीशविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो । उक्त प्रस्तावमा सांसदहरू नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार