
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको पत्र बुझेका छन् । आज (आइतबार) पत्र बुझेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका हुन् ।
प्रधानन्यायाधीशविरुद्ध काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदहरु आज बिहान संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । जबरालाई संसद सचिवालयले पत्रमार्फत जानकारी गराएको हो । संसद सचिवालयबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सूचनासहितको पत्र प्राप्त भएपछि जबरा सर्वोच्चबाट बाहिएका हुन् ।
प्रधानन्याधीश जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका थिए । महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बित भएका छन् । जबरा घर फर्कने क्रममा उनी चढ्ने गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपिएको थियो । जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।

