नवकान्तिपुर संवाददाता
काठमाडौं, १ फागुन ।

काठमाडौँ-नुवाकोट जोड्ने नाका तारकेश्वर नगरपालिकाको वडा नं ३ तिनपिप्लेमा स्थानीयद्वारा सडक अवरोध गर्दे विरोधका कार्यक्रमहरु सुरु गरेका छन् । काठमाण्डौंबाट ८.१० किलो मिटरको दुरीमा रहेको तिनपिप्लेसम्म बाटोको अवस्था अत्यन्तै दयनिय छ । काठमाडौँबाट नजिक भएता पनि यस क्षेत्रको सडकमा पानी पर्दा हिलो भएर र घाम लाग्दा धुलो उडेर हिड्न नसकिने अवस्थामा रहेको छ ।
उपत्यका नजिकका सडकका अवस्था त यस्तो छ भने अन्य ठाउँको मोटरबाटोहरुको अवस्था कस्तो होला ? भनि कल्पना गर्न पनि सकिदैन । काठमाडौँ नुवाकोट जोड्ने पासाङल्हामु राजमार्ग अवस्था बिगत ७ बर्ष देखी दुरासय अवस्थामा छ । दैनिक २०० भन्दा बढी संख्यामा काठमाडौँ नगरपालिकाको फोहोरमैलाका गाडीहरु यहि नाका भएर गुड्छन । तर, पासाङल्हामु राजमार्ग अन्तर्गतको बाटो निर्माणको ठेक्का पाएको शैलुङ कन्ष्ट्रक्सनले ७ वर्षसम्म पनि बाटो निर्माण सम्पन्न गरेको छैन । कन्ष्ट्रक्सनले सात वर्षमा पनि निर्माण सम्पन्न नगरी सडकलाई अलपत्र बनाएपछि स्थानीय बासिन्दा आन्दोलित बनेका हुन् ।
शैलुङ कन्ष्ट्रक्सन र त्यसका मालिक शारदा प्रसाद अधिकारीको लापारबाही र ढिला सुस्तिका कारण स्थानीयले सास्थी भोग्दै आएका छन् । लामोसमय सम्म पनि बाटो नबनाउने कम्पनीलाई कारबाही गर्न नसक्ने सरकारको गैरजिम्मेवारी र लाचारपनको विरोधमा स्थानीयहरुले आज माहानगरको फोहोरमैला बोकेका सयौं गाडी र पासाङल्हामु राजमार्ग अवरुद्ध गरेका छन् ।
स्थानीयहरू पासाङल्हामु राजमार्गमा कालोपत्रे दबाब अभियान भन्दै सडकमा उत्रेका छन् । चरणबद्ध रुपमा आन्दोलन गर्दे आएका स्थानीयहरूले यसअघि सडकमैै धान रोपेर, कहिले यातायात नै ठप्प पारेर त, कहिले ठेकेदार कम्पनीका मालिक शारदा प्रशाद अधिकारीको विरोधमा उत्रिएर आनदोलनका कार्यक्रमहरु गर्दै आएका छन् । पटक-पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदा पनि केही सुनवाई नहुँदा बाध्य भएर आफूहरु सडकमा उत्रनु परेको एक स्थानीयले नवकान्तिपुरलाई बताए । यदि बाटो कालोपत्रे नभए आउँदै गरेको स्थानीय तहको निर्वाचनमा कुनै पार्टीका जनप्रतिनिधिहरुलाई भोट नदिने भन्दै उनीहरुले आक्रोश पोखेका छन् । विकासको नामाम सबै योजनाहरु अलपत्र पार्दे छाड्ने कम्पनीहरुलाई कानुनको दायरामा ल्याउन कुनै कसुर बाँकी राख्नु हुँदैन भन्दै स्थानीयले यस विषयमा राज्यको ध्यान जान आवश्यक रहेको बताएका छन् ।
