नवकान्तिपुर संवाददाता
काठमाडौं, १ फागुन ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ५२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ११५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जना र चार हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा ९४ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १० जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३ हजार ९३५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ३८ हजार ५८३ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ । जसमा २१ हजार ६९२ जना होम आइसोलेसनमा छन् भने ८९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १८१ संक्रमित आईसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७३ हजार ५९ र एन्टिजेन विधिबाट १ लाख ३७ हजार ४१२ जना पुगेको छ ।