नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ फागुन ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । आज (मंगलबार) बिहान ८ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव, एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल भएको बालुवाटार स्रोतले बतायो । नेपाली कांग्रेसको बैठकअघि देउवाले प्रचण्ड र नेपालसँग भेटवार्ता गरेका हुन् । त्यस्तै भेटवार्तामा राजदूत नियुक्तिका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि गत बिहीबार पनि प्रचण्ड र नेपालसँग देउवाले राजदूत नियुक्ति विषयमा छलफल गरेका थिए । अब बस्ने मन्त्रिपरिषद बैठकबाट राजदूत सिफारिसको तयारी गरिने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । हाल २३ देशमा नेपाली राजदूत रिक्त रहेका छन् । तत्कालिन केपी शर्मा ओली सरकारले राजनीतिक नियुक्ति दिएका १२ देशका राजदूतलाई देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएपछि ती देशमा राजदूत रिक्त रहेका हुन् ।

