नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ फागुन ।

काठमाडौँसहित देशका विभिन्न स्थानबाट ८ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण माईती नेपाल पण्डित गाउँस्थित सडकमा सोही नगरपालिका-१ ओख्रेनी घर भएका ३० वर्षीय रमेश खत्री सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी काठमाडौँ गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण बाग्मती खोला किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रौतहट, दुर्गाभगवती गाउँपालिका-३ मत्सरीस्थित बागमती खोला छेउमा भारत सितामढी बैरगनिया बस्ने ३२ वर्षीय आश नारायण साहको शव र सोही खोलाको बिच भगमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको शव सडीगलेको अवस्थामा सोमबार फेला परेको छ ।
त्यस्तै डोटी, दिपायल सिलगढी नगरपालिका-५ स्थित फितला सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यता महोत्तरी, बर्दिवास नगरपालिका-३ मर्कास्थित खोल्सीमा सोही नगरपालिका- ३ पाटु बस्ने ५० वर्षीय शुक्रमान दमाई सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी नवलपरासी (पूर्व), कावासोती नगरपालिका-११ कुढैली बस्ने ५५ वर्षीया प्रेम कुमारी गुरौ सोही ठाउँस्थित सुख्खा कुलोमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै भक्तपुर, सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने ३४ वर्षीया मेनुका श्रेष्ठ आफ्नै घरमा सुतेकै ठाउँमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । यता सुनसरी, बराहक्षेत्र नगरपालिका-८ शेरे चोकस्थित चतरा झुम्का नहरमा सोही नगरपालिका-७ बस्ने ५६ वर्षीया शान्ती देवी विश्वाकर्मा सोमबार मृत अवस्थामा फेला परेकी छन् । उनी गत माघ २४ गतेदेखि घरबाट हराएकोले खोजी गर्नेक्रममा उक्त नहरमा उनको शव फेला परेको हो ।
त्यस्तै झापा, बाह्रदशी गाउँपालिका-७ डाडागाउँ क्याम्प भन्ने ठाउँमा कन्काई नगरपालिका- ६ बस्ने ८० वर्षीय कामती तामाङ सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
