संसद बैठकमा एमसीसी टेबल गराउने काँग्रेस संसदीय दलको निर्णय

भोलिको लागि तय भएको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसले एमसीसी टेबल गराउने निर्णय गरेको छ । आज (मंगलबार) सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको हो ।

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको प्रतिनिधिसभाको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएको काँग्रेस महामन्त्री गगन थापाले जानकारी दिए । बैठकमा उनले आफूले समामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा परामर्श गरेको र एमसीसी सम्झौता टेबुल हुनेमा विश्वस्त रहेको बताएको थापाले बताए । ‘एमसीसी भोलि पेश हुन्छ भन्ने कुरामा प्रधानमन्त्रीले यो विषयमा मैले सभामुखसँग कुरा गरेको छु भन्नुभएको छ, सभामुखसँगको परामर्शपछि एमसीसी टेबुल हुन्छ भन्ने कुरामा उहाँले हामीलाई विश्वास दिलाउनुभयो’ थापाले भने ।



यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निर्णय गरेर संसदमा दर्ता गरेको एमसीसी सम्झौता पारित गराउन कांग्रेसले पहल लिएको थापाले बताए । यस्तै प्रधानमन्त्री देउवाले काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत आग्रह गरेका छन् । संसदीय दलका नेता देउवाको अध्यक्षमा बसेको बैठकमा कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसीको विषयमा ब्रिफिङ गरेका थिए ।

सम्बन्धित समाचार