नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ फागुन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । आज (मंगलबार) एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाको राजीनामा माग गरेका हुन् ।
मन्त्री खतिवडाले २४ लाख खोप ‘हराएको’ ढाकछोप गर्न खोजेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको खोप आफूहरूले पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति झुठो रहेको भन्दै एमालेले आपत्ति जनाएको हो । त्यस्तै एमालेले विज्ञप्ति जारी गर्दै खतिवडालाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानकर्षण गराएका हुन् ।
संघीय सांसदहरुलाई निःशुल्क खोप उपलब्ध गराएको बेला खतिवडाले १९ फागुन २०७७ मा सिभिल अस्पतालमा पहिलो मात्र कोरोना खोप लगाएका थिए । सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै खतिवडाले हस्ताक्षरसमेत गरेको एमालेले दावी गरेको छ ।
‘आमजनता कोभिड–१९ बाट आक्रान्त भइरहेको बेलामा मन्त्रीले दिएको उक्त अभिव्यक्तिको हामी निन्दा र भर्त्सना गर्दछौँ । यति झुट बोल्ने व्यक्ति नैतिक रूपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ । साथै, आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
कोभिड–१९ सम्बन्धी विभिन्न समयमा सरकारले जारी गरेका निर्देशिकाहरुले खोपको कालोबजारी, बिक्री–वितरण र दुरुपयोग गर्नुलाई गम्भीर अपराधका रुपमा उल्लेख गरेको छ । ‘मन्त्री खतिवडाले खोप ऐन र कोभिड निर्देशिकामा उल्लेख भएका प्रावधानविपरीत गम्भीर अपराध गर्नुका साथै गलत सूचना सम्प्रेषण गर्ने र अफवाह सिर्जना गर्ने काम गरेर कोरोना जस्तो संवेदनशील विषयमा अत्यन्तै गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्नुभएको छ’, भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति

