नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ । एमसीसीको विरोधमा नेकपा लगायतलेले आजका लागि नेपाल बन्द आह्वान गरेको हो ।
बन्दका कारण विद्यालयहरु बन्द रहेपनि यातायातलगायत अन्य क्षेत्रमा यसको प्रभाव देखिएको छैन । बिहानैदेखि सवारी साधनहरु निर्वाध चलिरहेका छन् भने बजार पसल पनि खुल्ला छन् । बिहानैदेखि काठमाडौं उपत्यकाबाट भित्रिने र बाहिरिने सवारी साधनको अघिल्ला दिनहरुको तुलनामा केही कम रहेको नागढुंगा प्रहरीले जनाएको छ।
सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले मंगलबार नै सर्कुलर जारी गरेर सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएको थियो । काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।
