माओवादी संसदीय दलको बैठकले गर्यो यस्तो निर्णय

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निर्णय गरेको छ । आज (बुधबार)सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

आजको प्रतिनिधि सभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि नेकपा माओवादीले संसदीय बैठक बोलाएको थियो । बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने बताए । त्यस्तै बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय पनि गरेको छ । त्यस्तै माओवादी केन्द्र जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाइए विपक्षमा मतदान गर्ने र सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ ।



आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी विषय उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने तथा डा. दुमनसिंह थापा, लक्ष्मीदास मानन्धर र जगत बहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।

संसद बैठकको अन्तिम कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्ने सम्भावना रहेको छ । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठक पनि अवरोध गर्ने जनाएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संदन निरन्तर अवरोध गरिरहेको छ ।

सम्बन्धित समाचार