नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । माओवादी संसदीय दलको बैठक सकिएपछि प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
भेटवार्तामा अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा टेबल नगर्ने सहमति भएको हो । यसैबीच एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
यसअघि आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठक एमसीसीको विपक्षमा उभिने निर्णय गरेको थियो । त्यस्तै माओवादी केन्द्रले एमसीसी जबरजस्ती अघि बढाउन खोजे गठबन्धन तोड्न सक्ने चेतावनी पनि दिएको थियो । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।

