नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा टेबुल हुने बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा मन्त्री बडूले यस्तो बताएका हुन् ।
उनले एमसीसीलाई सदनमा प्रवेश गराउने विषयमा निरन्तर प्रयास भएको र सहमति जुटाउन पर्सीसम्मका लागि समय निर्धारण गरिएको जनाएका छन् । मन्त्री बडूले भने,’यो विषयलाई संसद्मा प्रवेश गराउने र छलफलमा लाने हाम्रो उद्देश्य हो । छलफलका निमित्त दललाई अझै केही समय चाहिन्छ भन्ने आएकाले थप सहमति जुटाएर अबको बैठकमा टेबुल गर्ने सहमति बनाउँदैछौँ ।’
प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ६ गते शुक्रबार दिउँसो १ बजे तोकिएको छ भने सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक ५ गते दिउँसो ३ बजेको लागि बोलाइएको छ ।

