नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ७५६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ७८२ जनाको पीसीआर परीक्षण गर्दा ४५४ जना र दुई हजार ९७४ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९०५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १ हजार ६०० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ४४ हजार ३३७ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ । जसमा १७ हजार ५८० जना होम आइसोलेसनमा छन् भने ६७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १५६ संक्रमित आईसीयूमा र २६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७४ हजार ४९३ र एन्टिजेन विधिबाट १ लाख ३८ हजार ४४ जना पुगेको छ ।