नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।

बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँमाथि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मधुसुदन न्यौपानेका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी दिएको हो ।
एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ ।
पक्राउ पुर्जी जारी भएपछि बानियाँको खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ । बानियाँलाई अनुसन्धानको दायरामा ल्याएपछि बाँकी प्रक्रिया अगाडि बढ्ने पनि प्रहरीले बताएको छ ।

