नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ फागुन ।

मन्त्रिपरिषद् बैठक आज(बिहीबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । सत्ता गठबन्धनको बैठकअघि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
मन्त्रीपरिषद् बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ र बैठकमा एमसीसी सम्झौताबारे विशेष छलफल हुने स्रोतले बताएको छ । त्यस्तै बैठकले एमसीसी सम्झौता संसदमा लैजाने विषयमा निर्णय गर्नसक्ने बताइएको छ । त्यसैगरी आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो ।
भेटवार्तामा एमसीसीबारे छलफल भएपनि सहमति जुट्न सकेन । दुबै नेताले आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । त्यस्तै सहमति हुन नसकेपछि गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ । यसअघि बैठक आज ३ बजे बस्ने तय भएको थियो । देउवा आगामी प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्न पक्षमा छन् भने प्रचण्ड एमसीसीको विपक्षमा छन् । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठक एमसीसीको विपक्षमा उभिने निर्णय गरेको थियो । यस्तै माओवादी केन्द्रले देउवाले एमसीसी जबरजस्ती अघि बढाउन खोजे गठबन्धन तोड्न सक्ने चेतावनी पनि दिएको थियो ।
