नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ फागुन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन जोगाउने बताएका छन् । आज (बिहीबार) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि अध्यक्ष प्रचण्डले आफूहरु सत्ता गठबन्धन जोगाउने पक्षमा रहेको बताएका हुन् ।
सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष नेपाल र जसपा नेता श्रेष्ठसँग छलफलपछि पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धन बचाउने र एमसीसीलाई निकास दिने विषयमा छलफल भएको जानकरी दिए । सत्ता गठबन्धनको बैठकअघि उनीहरुबीच भेटवार्ता भएको हो । सत्ता गठबन्धनको बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
‘एमसीसीलाई कसरी निकास दिने र गठबन्धन बचाउने विषयमा छलफल भइराखेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘सकेसम्म गठबन्धन बचाउनेमा हाम्रो जोड छ ।’ प्रचण्डले भने, ‘हाम्रो संयन्त्रको आज ५ बजे मिटिङ छ । त्यसैको तयारीका बारेमा अहिले छलफल भयो ।’ यसअघि आज बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता भएको थियो ।
