नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ फागुन ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ७८९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ जना र दुई हजार ७६१ जनाको एन्टिजेन परीक्षण गर्दा २०६ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९११ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १ हजार ९९३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ४६ हजार ३३० जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ रहेको छ । जसमा १५ हजार ९४७ जना होम आइसोलेसनमा छन् भने ६६९जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १५१ संक्रमित आईसीयूमा र २६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७४ हजार ८५७ र एन्टिजेन विधिबाट १ लाख ३८ हजार २५० जना पुगेको छ ।