सत्तारूढ गठबन्धनको बैठक सुरु, के आउँला निर्णय ?

सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पाँच दलीय गठबन्धनको आजको बैठकमा मुख्यगरी एमसीसीको विषयमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलगायत गठबन्धनका शीर्ष नेताहरू सहभागी छन् ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी परियोजना तत्कालै संसद्मा टेबुल गर्ने पक्षमा छन् भने माओवादी र एकीकृत समाजवादीले अहिले एमसीसी पेस गर्न नहुने बताउँदै आएका छन् ।  यसअघि, सत्ता गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छलफल गरेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा माओवादीका नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।बैठकले एमसीसीमा अडान परिवर्तन नगर्ने निर्णय गरेको छ ।



यस्तै हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएपछि देउवा बैठकपछि एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए । त्यसैगरी बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठक एमसीसीको विपक्षमा उभिने निर्णय गरेको थियो । यस्तै माओवादी केन्द्रले देउवाले एमसीसी जबरजस्ती अघि बढाउन खोजे गठबन्धन तोड्न सक्ने चेतावनी पनि दिएको थियो ।

सम्बन्धित समाचार