नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ फागुन ।

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक पुन: स्थगित गरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही फागुन ८ र ९ गतेका लागि बोलाइएको बैठक स्थगित गरिएको बताएका छन् । ढकालका अनुसार केन्द्रीय कमिटी बैठक फागुन २० गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
पटक पटक स्थगित हुँदै आएको बैठक यस पटक फागुन ८ र ९ गते बस्न लागेको थियो । बैठक विशेष राजनीतिक परिस्थितिका कारण स्थगित भएको ढकालले बताए । बैठकमा समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनको घोषणापछिको अवस्था, पार्टीको पदाधिकारी चयनलगायतका विषयमा छलफल हुने बताइएको थियो । गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन ।
माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।
